लक्ष्मण तामाङ नेपाली केन्द्रीय विभाग कीर्तिपुर lax.tmg09@gmail.com |
काठमाडौंको वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित होला । काठमाडौं उपत्यका वरिपरि रहनुभन्दा पहिला तामाङहरू हालको काठमाडौं उपत्यकामा नै राज्य गर्दथे भन्ने प्रमाण पाइएको छ । आज सम्म कुनै पनि इतिहासको पानाले यो कुरा उल्लेख गर्न चाहेको देखिँदैन । हुन त आज सम्मको इतिहास भनेको नै एक व्यक्तिको व्यर्थको गुणगानलाई इतिहास भनिएको छ । इतिहास त जित्ने र हार्ने दुबैको हुनु पर्ने हो तर जित्नेको मात्र इतिहास पढेर हामी गुणगान गाइरहेका छौं । त्यसकारण अहिले हामी जे इतिहास भनेर भनिरहेका छौं, त्यो इतिहास नभएर एक व्यक्तिको गुणगान मात्र हो वा जित्नेको शक्तिको गुणगान मात्र हो । काठमाडौं उपत्यकामा तामाङहरूको राज्य रहँदा सम्म मल्ल वंशको समेत अस्तित्व थिएन । तामाङहरूलाई हटाएर यहाँ राज्य गर्न मल्ल वंशको लागि पनि चुनौती कै विषय थियो । त्यसकारण पनि उनीहरूले तामाङ राज्यको बारेमा उल्लेख गर्न चाहेन । तीतो यथार्थ र ध्रुवसत्य कुरो यो हो कि मच्छिन्द्रनाथको मेला हाल पनि तामाङले मनाउनुले नै काठमाडौं उपत्यकामा तामाङ राज्य थियो भनेर भन्न सकिने अवस्था छ । रवीन्द्र ग्यवक तामाङ लेख्छन् ‘तामाङ जातिको योन्जन थरका कुल देवता न्यूरोडका महांकाल हुन् । ब्लोन थरको कुल देवता इन्द्रचोकका सेतो मच्छिन्द्रनाथ हुन् । त्यसैगरी घिसिङहरूको कुल देवता हनुमान ढोकाका कालभैरब हुन् । रुम्बा थरीले गौसालाको जयबागेश्वरीलाई कुलदेवी मान्छन्’ — (ग्यावक–२०६८ चैत्र) तत्कालीन समयमा मच्छिन्द्रनाथको पूजा भनेको तामाङहरूले कुल पूजाको रूपमा पुज्ने गर्दथे र हालपनि तामाङहरूले पुज्ने गरेकाले कामाडौं उपत्यकामा तामाङ राज्य थिए भनेर सहज अनुमान गर्न सकिन्छ । काठमाडौंमा मल्ल र नेवारहरूले राज्य गर्नुभन्दा पहिला तामाङहरूलेनै राज्य गरे पनि नेवारहरूको छलकपटकटमा परिकन तामाङ राज्य गुमेको देखिन्छ । आफ्नो राज्य गुमाइ सकेपछि मर्माहत हुँदै तामाङहरू आपूmलाई पायक पर्ने स्थानको खोजी गर्दै बाहिरिने क्रममा उपत्यकाका पश्चिम पट्टिका हालको मकवानपुर धादिङ तिर लागे भने केही तामाङ अहिले पनि ललितपुरको लेलेमा बसोबास गरिरहेको देखिन्छ । उपत्यकाबाट निस्कने क्रममा मकवानपुर, धादिङ तिर लागेको तामाङहरू त्यही पहाडी भूभागमा बसोबास गर्न थाले र ससाना कविला राज्यहरू विभिन्न थुम्कामा निर्माण गरेर राज्यगर्न थाले । त्यस्तै हालको माछापोखरी बालाजु क्षेत्र लगायतमा बसोबास गरेका तामाङहरू आपूmलाई पायक पर्ने स्थानमा सर्ने क्रममा नुवाकोटतिर बसाई सरेको देखिन्छ । उपत्यकाबाट नुवाकोटतिर अन्यठाउँमा भन्दा बढी तामाङहरू बसाइँ सरेका कारण थुप्रै कविला राज्य नुवाकोटमा स्थापना हुन पुगेको देखिन्छ । उपत्यकाबाट हालको काभ्रे जिल्लातिर बसाइँ सरेका तामाङहरू पूर्वी उपत्यकाबाट पायक पर्ने ठाउँको खोजी गर्दै जाँदा काभ्रेको धुलीखेल र नगरकोट तिर बसाइँ सरेको भान हुन्छ । यी तथ्यले तामाङको बसोबासको अवस्था हेर्दा पनि यही सत्य जस्तो देखिन्छ । उपत्यका वरिपरि तामाङहरू छरिएर रहेको आधारमा भन्न सकिन्छ कि नेवारहरूसँगको घमसान युद्ध पछि आपूmलाई पायक पर्ने स्थानमा तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न थाले । लिखित प्रमाणको कुनै आधार नभए पनि तामाङको यो बासोबासको अवस्था हेर्दा पराजयको पीडा संगै तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न पुगे कि भन्ने अडकल सहज लगाउन सकिन्छ । हो त्यसै समयदेखि उपत्यकाको वरिपरि छरिएर रहेका तामाङहरूले आपूm बसेको क्षेत्रमा ससाना कविला राज्यको स्थापना गरेर राज्य गर्न थाले र लामो समय सम्म उपत्यका बाहिर पनि राज्य गरेको यथेष्ट प्रमाण पाउन सकिन्छ ।
नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्नु पूर्व तामाङ राज्यनै रहेको प्रमाण पाइएको छ । एउटा मात्र तामाङ राज्य नभएर ससाना कविला गणराज्यहरू नुवाकोटमा भएको अवस्थिति पाइएको छ । पृथ्वीनारायण शाहको (१७९९) को पहिलो नुवाकोट आक्रमण असफल पार्ने प्रमुख कारक तत्त्व पनि तामाङहरूनै थिए भन्ने जनस्रुति पाइन्छ । नुवाकोटमा पहिलो असफलता हात पारेपछि छलकपट द्वारा नुवाकोट विजय यात्रा शुभारम्भ गरेका पृथ्वीनारायण शाहले देशका विभिन्न भागमा छलकपटकै माध्यमद्वारा राज्य एकीकरण गर्दै त्यसैको माध्यमबाट बाँकी कविला तामाङ गणराज्यहरू माथि आक्रमण गरेर तामाङ इतिहास समाप्त गरिदिएका हुन भन्ने जनसु्रति पाइन्छ । त्यसैको नामेट स्वरूप आजपनि नेपाली इतिहासमा नुवाकोट आक्रमण र असफलताको इतिहास विद्यार्थीहरूलाई पढाइन्छ, घोकाइन्छ, रटाइन्छ तर तत्कालीन समयमा नुवाकोटमा कुन जातको राजाले राज्य गर्दथ्यो भन्ने चाहि खुुलाइएको छैन वा भनाँै जानकारीमै ल्याइएको छैन । कारण त्याहा पहिलो हारनै पृथ्वीनारायण शाहले तामाङहरूको कारणले बेहोर्नु परेको थियो । हालको नेपाली इतिहासकारले लुकाए अनुसार पनि नुवाकोटमा तामाङ राजाहरूनै यत्रतत्र छरिएर रहेको हुनु पर्छ भन्ने अड्कल सोझो रूपमा काट्न सकिने अवस्था छ । यथेष्ट प्रमाणको आधारमा नुवाकोटमा तामाङ राजाहरू रहेको देखिन्छ । ओखर पौवा (जहाँ फोहर फाल्ने गरिन्छ) गाविसमा एक तामाङ राज्य रहेको देखिन्छ । त्यहाँका राजाका सन्तानहरू आजपनि त्यहीँ रहेका छन् । उनीहरूका भनाइ अनुसार पनि त्यहाँ हाल पनि रुम्बा राजाको शिलापत्र र दरबारको भग्नावशेष भेट्न सकिन्छ छ । आवश्यक संरक्षणको अभावमा तत्कालीन समयमा भएको तामाङ ऐतिहासिक स्थलको नामेट गर्ने काम अहिलेको शासकहरूबाट पनि भइरहेको छ ।
....... काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो ।
जहाँ वाक्लो बस्ती थियो । उनीहरू भोटिया भाषा बोल्दथे । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनैलाई काठ भोटिया भनिन्छ । जो आजसम्म संरक्षित र कच्छाडको पहाडमा तर मुख्य रूपमा उनीहरू कुतीपट्टिको पर्वतीय भूमिमा अवाद छन् । .....
(एन एकाउन्ट अफ दि किङडम अफ नेपाल)
तामाङहरुको जातीय पहिरन |
यी भनाइ हेर्दा पनि काठमाडौं उपत्यकामा नेवारहहरूले राज्य गर्नु भन्दा पहिला तामाङहरूनै राजा थिए भन्न सकिन्छ । जसलाई स्वदेशी एवम् विदेशी विद्वानहरूले समेत स्वीकार गरेका छन् । नुवाकोटको विभिन्न भूभागमा स–साना कविला राज्य गरेर बसेका तामाङहरूले पृथ्वीनारायण शाहलाई हराउँदा एक राज्यले अर्को कविला राज्यलाई सहयोग गरेका कारण पनि पृथ्वीनारायण शाहको पहिलो हार नुवाकोटमा सुनिश्चित भएको हो । यस कारण पनि नुवाकोटमा अन्य जातिको राज्य नभएर तामाङ राज्यनै थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यस्तै तामाङ गणराज्यको रूपमा अर्को महत्वपूर्ण स्थान भनेको काभ्रे रहेको देखिन्छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाणले पनि काभ्रेमा तामाङ राजाकोनै कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । तामाङ भाषामा ‘का’ भन्नाले उपदेश र ‘भ्रे’ भन्नाले आठ भन्ने हुन्छ । भगवान बुद्धले आफ्नो पूर्वजन्म स्थल नमोबुद्धमा आइ आफ्ना शिष्यहरूलाई आठवटा महत्वपूर्ण उपदेश दिनुभएकोले यस जिल्लाको एउटा थुमलाई काभ्रे भनिएको हो । यही काभ्रे थुम र पलाञ्चोक भन्ने अर्को थुम जोडिएर यस जिल्लाको नाम काभ्रेपलाञ्चोक जिल्ला भएको हो भनिन्छ । (ग्यावक–२०६८ चैत्र) पृथ्वीनारायण शाहको एकीकरण अभियानमा काभ्रेमा पनि आक्रमण गरी सकेपछि त्यहाँका तामाङहरू विलयन हुँदै नेपालको पूर्वी भेगका साथै नेपाल बाहिर पनि पुगेको देखिएको छ । आफ्नो राज्य गुमाउनु पर्दाको पीडा सहन नसकी तामाङहरू बसाईँ सरेको देखिन्छ । दुःखको कुरो इतिहासको पानामा पृथ्वीनारयण शाहले विभिन्न तामाङ कविला राज्यहरू एकीकरण गरे पछि त्यहाँको तामाङमा घोर अन्याय गरेका कारण पुस्तौँ पुस्ता सम्म त्यस क्षेत्रमा रहेको तामाङहरू उठ्न सकेको देखिँदैन । पृथ्वीनारायण शाहले तामाङहरू माथि बसालेको दुव्र्यावहार आजका शासकहरूले पनि गुरुमन्त्र झैं पालना गरिरहेकै छन् र तामाङहरू अगाडि आउन सकेका छैनन् । जे भए पनि प्रमाणको आधारमा र हाल रहेको जिल्लाको नामबाटनै प्रमाणित हुन्छ कि काभ्रेमा पनि तामाङ राज्य नै थियोे । पृथ्वीनारायण शाहले आपूmले पहिलो हार बेहोर्नु परेका कारणले गर्दा पनि हुन सक्छ तामाङ, राज्यहरूको नामोच्चारण समेत गर्न चाहेको देखिदैन । यी लगायत मकवानपुर, धादिङ, मुस्ताङ जड्यान प्रशेशमा तामाङ राज्यहरू रहेपनि तामाङ राज्यको नाम कही पनि उल्लेख गर्न पृथ्वीनारायणले चाहेको देखिदैन । कारण राज्य एकीकरण गर्दा सबै भन्दा बढी सास्ती पृथ्वीनारयण शाहले तामाङ राज्यहरूबाट नै बेहोर्नु परेको देखिएको छ । त्यसैकारण पनि हुन सक्छ बाइसे चौबिसे राज्य भने पनि कही कतै तामाङ राज्यको उल्लेख सम्म पनि गरेको देखिदैन ।
इतिहासको पानाले लुकाएर राखेको तामाङ राज्यहरू एक दिन अवश्य बिउँझने छन् । जित्नेको गुण गान मात्र इतिहास भन्न मिल्दैन इतिहास हार्नेहरूको पनि हुनु पर्छ र हुन्छ । इतिहास लेखन गर्दा टुप्पाबाट लेखिने इतिहास अब फेदबाट लेखिनु पर्छ । शासकले दबाएर राखेको आज करिब २५० वर्ष भइसको छ । शाह वंशको उदय र विनास दुवै सकिएको छ । यति बेला सम्म जति इतिहास हेरियो, पढियो, रटियो, लेखियो यो सब जित्नेको नाटक मात्र हो यसलाई इतिहास भन्न मिल्दैन । इतिहास जित्ने र हार्ने दुवैको हुन पर्छ तब पो इतिहास हुन्छ नत्र के इतिहास ? तामाङ कविला राज्यहरूको पतन भनेको फेरि तामाङ राज्यको उदय हुने संकेत हो । यो एक दिन अवश्य उदाउने छ । शासकले शासित माथि गरेको दवाव हो । शासितहरूले इतिहास ताम्रपत्र, कनकपत्र, भोजपत्र, शिलालेख कही नरहने गरि नामेट गरीदिए पनि प्रत्येक शासितको जिब्रोमा तामाङ इतिहास रहेको छ । अबको इतिहास टुप्पाबाट हैन फेदबाट लेखिनु पर्छ । नत्र इतिहास नभएर शासकको गुणगान मात्र हुनेमा कुनै दुईमत छैन । हामी माथि युगौँ युगदेखि हाम्रो आवाज शासकले दबाएर राखेको छ । अब सच्चा इतिहास लेख्ने बेला भएको छ । यसको लागि नेपाली भूमिमा जनजातिको इतिहास खोज्नको लागि शासकद्वारा दबाइएका जनतातिर फर्केर इतिहास खोज्ने समय भएको छ । नेपाली शासित इतिहास हामीले बोल्न नसके पनि नेपाली माटोले हाम्रो इतिहास बोली रहेको छ । सताब्दियौँ देखि एकछत्र हाली मुहाली गरी आएको सम्भ्रान्तको टुप्पोबाट लेखिदै आएको इतिहास विरुद्ध अब हामीले इतिहास फेदबाट लेख्न थाल्नु पर्छ । शासितहरूले शासकमाथि क्षतिपूर्ति उठाउने समय भएको छ । हैन भने डोरबहादु विष्टले आफ्नो पुस्तक ‘प्mेटेलिज्म एण्ड डिभलप्मेन्ट’ (भाग्यवाद र विकास) मा नेपालको उन्नति वा विकासमा बाहुनवादलाई नै सबै भन्दा ठूलो बाधक मानेका छन् । हामीले पनि मान्ने मात्र हो या हाम्रो माटोले बोलेको इतिहासलाई लिपिबद्ध गर्ने हो तपाईँको हातमा छ ।
सन्दर्भ गन्थ्रहरू
१. तामाङ, ग्यावक रविन्द्र (२०६८) प्राचीन तामाङ राज्यहरू, (पहिलो संस्करण), काठमाडौं ः थ्बmदगचष् द्यययप एयष्लत।
२. तामाङ, अमृत (योञ्जन) (२०६८) तामाङ साहित्यको इतिहास, (पहिलो संस्करण), काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
३. श्रेष्ठ, तारालाल (२०६८) शक्ति, स्रष्टा सबाल्टर्न, (पहिलो संस्करण), काठमाडांै डिस्कोर्स पब्लिकेसन ।
।। इति ।।
No comments:
Post a Comment