१. चाम्लिङ जाति
कुम्भराज चाम्लिङ त्रिभुवन विश्वविद्यालय |
चाम्लिङ जाति नेपालको पूर्वी पहाडी जिल्लाहरूमा बसोबास गर्ने किरात राईहरूमध्येका एक समुदायमा रहेका मंगोल जाति हुन् । स्वतन्त्रताप्रेमी, आफ्नै मौलिक संस्कृति, धर्म, संस्कार, रीतिरिवाज, चालचलन भएको साहसी, स्वाभिमानी एवम् इमान्दारिता यस जातिको विशेषता हो । यस जातिका अन्य विशेषता भन्नु गीत तथा सङ्गीतको भावनामा रम्ने अरूको समस्यालाई पनि आफ्नै जतिको मानी सहयोगीका साथै मानवीय व्यवहार भएको विशेषतालाई पनि त्यत्तिकै नकार्न सकिन्न । यस जातिले वैदिक धर्मग्रन्थका रूपमा मुन्धुम धार्मिक वेदानुसार आफ्ना सांस्कारिक कार्यकलापहरू मान्ने गर्दछन् । मुख्य चाडपर्वका रूपमा बैशाख पूर्णिमालाई उभौली र मङ्सिर पूर्णिमालाई उधौली पर्वहरू यस जातिले आफ्नै जातीय अर्थ बोकेको चाडहरू मान्ने गर्दछन् ।
२. चाम्लिङ भाषा
चाम्लिङ भाषा चिनियाँ–तिब्बती भाषा परिवारअन्तर्गत पर्ने राई किराती भाषा हो । ‘चाम्लिङ ला’ भनिने चाम्लिङ भाषालाई ‘रोदोङ’ शीर्षकमा उल्लेख गर्ने विदेशी जर्ज ग्रियर्सन हुन् । त्यसपछि गर्ड हयन्सन, जेन्जीरो तामुरा आदिले चाम्लिङ भाषा र जातिबारे अध्ययन गरेको उल्लेख गरेका छन् ।
माझकिरात निवासी चाम्लिङ भाषा इतिहासमा उल्लेख भएबमोजिम किरात वंशको पालादेखि नै यस भाषाको प्रयोगबाट नै सञ्चार विनिमयको माध्यम बनाइए पनि यस भाषाको विकास शाह बंशको राज्य एकीकरण कालपछि सम्पूर्ण नेपाली जनतालाई हिन्दु संस्कार नै अनिवार्य मान्नुपनेर्, नेपाली भाषा नै अनिबार्य बोल्नुपर्ने, सरकारी कामकाजको भाषा पनि नेपालीबाट नै गर्नुपर्ने बाध्यताले गर्दा यस भाषालाई नकारात्मक असर पर्न गई भाषा र लिपि नै हराउन गएको पाइएको छ ।
यस भाषाको भाषिक अनुसन्धान, संस्कार र संस्कृतिको महत्तालाई बुझी वि.सं. २०२४ सालदेखि टंकबहादुर राईले चाम्लिङ भाषामा रचना तयार गर्ने र शब्द संकलन गर्ने सुरुवात गरेका थिए । यसपछि भाषाको लोप हुँदै जाँदा आफ्नो मौलिकता नै लोप हुने सम्भावनाले वि.सं.२०३७ सालबाट किरात चाम्लिङ भाषा जागरण अभियान आरम्भ तथा सञ्चालन गर्न थाले । यस कार्यको प्रयास पनि स्वयं टंकबहादुर राईको नै बढी मात्रामा सक्रियता देखिन्छ । यसरी उनको बैचारिक नेतृत्व, उत्प्रेरणा साथै भाषालाई संरक्षण, प्रकाशन, अनुसन्धान गर्न सहयोग गर्ने अन्य भाषाप्रेमी सहयोगीहरूको अग्रसरतामा सीम छाम, पिछा बुङाची जस्ता पुस्तक प्रकाशित भए । वि.सं. २०३८ सालदेखि पारुहाङ पत्रिका तथा अन्य पुस्तकहरूबाट किरात भाषासँग सम्बन्धित रचनाहरू प्रकाशित हुँदै जान थाले । भाषासम्बन्धी खोज गर्न विभिन्न दुर्गम पहाडी भूमितिर पनि २०३८ देखि २०४७ सालसम्म पञ्चायती शासनको तीब्र दमनका कारण त्यति फस्टाएको पाइन्न ।
वि.सं. २०४७ सालपछि बहुदलीय व्यवस्थापछि मी पाक्षिक पत्रिकाले किरात भाषा संरक्षणको पक्षमा सशक्त आवाज उठ्न थालेको, २०५१ सालमा चाम्लिङ ला शाछाम् खाम्बातिम् संस्थाको स्थापना यस संस्थाले चाम्लिङका साथै खालीङ, कुलुङ, साम्पाङ, दुमी, बाहिङ, उबुँचौरासे, याम्फू, आठपहरिया, मेवाहाङ, लोहोरुङजस्ता किरात भाषासम्बन्धी सम्पूर्ण भाषाहरूलाई रेडियो, टेलिभिजन, विद्यालय, आदिमा स्थान दिलाउनु पर्नेबारेमा सरकार तथा किरातको ध्यानाकर्षित गरायो । यस्तै गरेर वि.सं.२०५२ मंसिरबाट किरात भाषा संरक्षण समितिको स्थापनाले किरात भाषाप्रति भएको सरकारी भेदभावपूर्ण नीतिको अन्त्य गर्न र किरातहरूको भाषिक अधिकार कायम गराउनुपर्ने आवाज उठाइरहेको छ ।
यसरी चाम्लिङ भाषा र चाम्लिङ जातिको उत्थान गर्न सहयोग पु¥याउने ग्रन्थ तथा पत्रपत्रिकाहरूमध्ये २०३७ सालमा सीम छाम, पिछा बुङाची, २०४२ सालमा चाम्लिङला, २०५१ सालमा छामची दिमची, चाम्लिङ राई र चाम्लिङ भाषा, चाम्लिङला शाछाम् खाम्बातिम् परिचयात्मक पुस्तिका, साथै २०५४ सालमा चाम्लिङला चैदुन्चीये गडुलमान राईद्वारा नेपाली–चाम्लिङ राई शब्दसंग्रह (२०६५), विष्णुसिँह राईद्वारा चाम्लिङ व्याकरण (२०६८) नामक पुस्तक प्रकाशित भएका छन् । त्यस्तै पारुहाङ पत्रिका २०३८ सालदेखि नै चाम्लिङ भाषाको शब्द संकलन र रचनाहरू प्रकाशित हुँदै आएका छन् । (राई, २०५८ ः १९७)
यसरी लामो समयदेखि चाम्लिङ भाषीहरूबाट चाम्लिङ भाषाहरूको निम्ति प्रयास गर्दै आएको यस घडीमा केही चाम्लिङ किरातीहरू बसोबास गर्ने स्थानहरूमा यस भाषाको पठनपाठन आरम्भ, मन र भावनालाई गीतसंगीतको माध्यमबाट प्रशारण र एफ.एम. रेडियोहरूले समाचार प्रशारण गरी नेपाली बुझ्न कठीन पर्ने पूर्खा वृद्धवृद्धा आमाबुवाहरूलाई सूचना र जानकारी दिलाउनमा सहयोग पु¥याएको पाइन्छ ।
1 comment:
चाम्लिङहरु राई होइनन् ।
Post a Comment