खगेन्द्र संग्रौला
(The Kantipr National Daily)
कहिलेकाहीँ हाम्रा टेलिभिजन च्यानलहरू कमाल गर्छन् । केके न चमत्कार देखाउँछु भनेझैँ गरी पहाड खन्छन् र आखिरमा झिकेर हामीलाई देखाउँछन्, डुरे मुसो । अलि दिनअघि यस्तै भयो । एउटा उत्पात अनुसन्धानशील च्यानल बडो उद्यमशील पाराले पहाड खन्न थाल्यो । र विज्ञापनको बम पड्काउँदै त्यसले ढोल पिट्यो । सुन्दा यस्तो लाग्यो, मानौँ पहाड खनेर कुनै गुप्तबासी देवावतारलाई बाहिर निकालिँदै छ । देवावतार पनि जस्तो-तस्तो होइन, प्रचण्ड प्रतापी भूपति टाइपको । विज्ञापनको गुप्त भावार्थले फुर्तीसाथ भन्यो— जब ऊ प्रकट हुन्छ, उसको प्रताप र आशिर्वादले हिमाल, पहाड, मधेस-तराईका सारा द्वन्द्व र दुःखहरू पलभरमै अलप हुन्छन् । र नेपाल शान्ति र सुखको भूस्वर्गमा परिणत हुन्छ ।
यता म अपलक हेर्दैछु, उता बडो यत्नसाथ पहाड खनिँदैछ । विज्ञापनको बम घरिघरि पड्किन्छ र त्यसको धूवाँमा मुसाको थुतुनो र पुच्छरजस्ता केही चिजको आकृति झ्यास्स दृष्टिगोचर हुन्छ । ती आकृति देखेर कोही झस्किन्छन्, कोही मखलेल हुन्छन् । सिर्जनशील मस्तिष्कबाट जन्मेको सनसनीपूर्ण विज्ञापनबाजीले गाँजिएर सारा मानिस घिच्रा तन्काउँदै पहाडतिर एकोहोरो हेर्छन् ।
कष्टसाध्य खोदाइ सकियो । र खनिएको आदिम गुफाबाट हरिबिजोकको डुरे मुसो फुत्त बाहिर निस्क्यो । मुसाको औतारमा त मेरी बास्सै सिंहासनबाट पतीत पुराना महाराज ज्ञानेन्द्र पो प्रकट भए ! तिनले हेमानको बोरा बोकेका थिए । बोराको भारले दबिएर तिनको ढाड कुपि्रएको थियो । छाँटले त्यो पुराना सम्झनाहरू टनाटन भरिएको बोरा
थियो । ती कुरा बुझेँ, सम्झना ज्ञानेन्द्रका दुःखका मुहान हुन् । बोरा बिसाएर खुइय सुस्केरा हाल्दै ज्ञानेन्द्र
थ्याच्च बसे । र तिनको पसिना लतपत भएको निधारका मुजाहरूमा सम्झनाका तरङ्गहरू तैरिन थाले । रूग्ण, थकित र पराजित ज्ञानेन्द्रले आँखा चिम्लेर अतीततिर हेरे । तिनको एउटा सम्झनामा बालक ज्ञानेन्द्र
श्री ३ मोहन शमशेरका काखमा श्रीपेच लाएर राजा भयो । ज्ञानेन्द्रको अर्को सम्झनामा तिनका दाजु वीरेन्द्रले श्रीपेच लाए र डाहाले तिनको कलेजो जल्यो । अहो ! राजा भइसकेको म केही न केही, मेरो श्रीपेच हरेर नाथे वीरेन्द्र राजा हुने ? श्रीपेच धारणमा म वरिष्ठ, वीरेन्द्र कनिष्ठ । तर उसको शिर झकिझकाउ भयो, मेरो शिर खाली-खाली ! यसरी ज्ञानेन्द्रका चित्तमा चोट लाग्यो र पछि त्यो चोट उकुच पल्टिएको घाउसरीको कुण्ठामा परिणत भयो ।
म ध्यान-मुद्रामा हेर्दैछु, बोराधारी ज्ञानेन्द्रको हँसीखुसी सुन्नाराम टाइपको अनुहार किञ्चित् उज्यालो भयो । र तिनको सम्झनाको ऐनामा अर्को पत्र खुल्यो । वीरेन्द्र परिवारको आमहत्याबाट बनेको चित्कारमय चौतारी टेकेर ज्ञानेन्द्र सिंहासनमा उक्लिए । शिरमाथि श्रीपेच छ, मनको एक कुनामा दिग्विजयको उन्मादी भाव छ र अर्को कुनामा छ, अहंकारको गोमन सर्प । ज्ञानेन्द्रका ओठबाट कुटिल मुस्कान तुन्द्रुङ्ग
झुन्डियो । तिनले सोचे हुनन्, श्रीपेचको अस्सली स्वामी जो हो, उसैलाई खोज्दै रक्तकुण्डमा डुबुल्की मारेर गरिमामय श्रीपेच मेरो सुयोग्य शिरमा बास बस्न आइपुग्यो । धन्य हो भगवान् श्री पशुपतिनाथको अनुपम न्यायविधान !
षड्यन्त्र र काकतालीको योगबाट जब ज्ञानेन्द्र राजा भए, तिनलाई प्रातःस्मरणीय पिताश्री महेन्द्रको हुबहु सिको गर्न रहर लाग्यो । तिनले इतिहास उधिनेर महेन्द्रीय शिक्षा-दीक्षामा संस्कारित भएका आदिम पात्रहरू निकाले । र ती भए तिनको तानाशाही चलाइदिने बफादार सेवकहरू । यतिखेर सम्झनाको लहरोमा झुन्डिएर बोराधारी वृद्ध ज्ञानेन्द्र आपmनो अतीतको झाँकी टुलुटुलु हेर्दैछन् । महेन्द्रका निरंकुश पाइला पछ्याउँदै तिनले फौजी-काण्ड रचे । तिनले बहुदल फाँटका नेताहरूलाई घर-घरमा थुने । तिनले प्रतिपक्षी चेतनाका बाहक विचारकर्मीहरूलाई खोर-खोरमा कोचे । तिनले सञ्चारमाध्यमका सम्पादकीय टेबुलहरूमा मिसिनगन तेस्र्याए । तिनले राइफल ताकेर सारा सडक कब्जा गरे । तिनले चाकर जतिलाई काखा र स्वाभिमानप्रेमी जतिलाई पाखा पारे । र तिनले राज्यको ढुकुटीमा लामा हात गरेर अकुत रकम
लुटे । यसरी ज्ञानेन्द्रको पहिचानको एउटा पृथक् विम्ब बन्यो । त्यो विम्बमा भयङ्कर क्रूरता, असीम लोभ र विद्रूप नरद्रोहको छाप ठोकिएको थियो । त्यो ताण्डव, ती दिन, ती पराक्रम, त्यो शान र त्यो गौरव सम्झेर यसो बोरा छाम्दै ज्ञानेन्द्र फिस्स हाँसे । तर हठात् उनको अनुहारमा हताशाको बादल लाग्यो । उनले सुस्केरा हाले । अहो ! ऊबेला त्यस्तो सिंह थिएँ, यो बेला यस्तो मुसो भएँ ! पहिले जसलाई मुसो बनाएको थिएँ, अहिले तिनैले मलाई मुसो बनाए । हरे ! जिउँदै मेरो मरेको जुनी भो ।
यता म अपलक हेर्दैछु, उता बडो यत्नसाथ पहाड खनेर मुसाको औतारमा निकालिएका ज्ञानेन्द्र अन्तर्वार्ता
दिँदैछन् । तिनको अनुहारमा अलमल, दुविधा र दिग्भ्रमको भाव भरिएको छ । ती हताश र क्रुद्ध छन् । मानौँ द्वेष र प्रतिशोधको आगोले ती भित्रभित्रै हुर्हुरी जलिरहेका छन् । लाग्छ, ती भयावह दुःस्वप्नमा
हल्लिरहेको थोत्रो झोलुङ्गे पुलमा कहालिँदै कतै नपुग्न व्यर्थमा हिँडिरहेका छन् ।
काँचको पर्दामा अन्तर्वार्ता चल्दो छ । त्यो अन्तर्वार्ता
मलाई कुनै सस्तो बजारू फिलिमको खलपात्रसितको
उच्चाटलाग्दो वार्तालापजस्तो लाग्छ । अन्तर्वार्ता दिने पात्रको भाषा लथालिङ्ग छ । उसको भावतरङ्गमा लेसमात्र पनि सङ्गति छैन । ऊ दुईअर्थी र अनिश्चयबोधी कुरा गर्छ । ऊ कहीँ कतै यथार्थको धरातल टेकेर उभिएको छैन । बरू ऊ त मर्नुअघि प्वाँख पलाएको कमिलोझैँ हावामा भौँतारिइरहेको पो छ । वार्तामा विना सुर र विना ताल कुरा उठ्छ, सात दलसितको सम्झौताको । दिग्भ्रमित मुद्रामा बोलिरहेको पात्र च्याँठिएको स्वरमा भन्छ— सात दलका नायकहरूसित राजतन्त्र राख्ने सम्झौता भएको थियो । त्यो पनि बकितमको भाकामा होइन, बकाइदा लिखितमको चिरस्थायी भाकामा । भ्रमित पात्रको मनोदशा लथालिङ्ग, भताभुङ्ग भएको छ । सम्झौतामा सहीछाप ठोक्ने को थियो, ऊ भन्न सक्दैन । सम्झौताको लिखत कहाँ छ त काजी ? काजी अकमकाउँछ र हावा कुरा गर्छ— त्यो उतै कतै कसैसँग होला अथवा त्यो यतै कतै मैसँग पनि होला । त्यो सम्झौता कति बुँदे थियो
प्रभु ? सेवक सविनय सोधनी गर्छ । प्रभुबाट उस्तै लकपके स्वरमा आज्ञा हुन्छ— त्यो त्यस्तै तीन-चार बुँदे थियो । बरा स्मृति भग्न भएको, समयको लिकबाट कान्लामुनि खसेको, जीवनको लय र सङ्गतिप्रति बेखबर भएको मुसिकरूपी पात्रलाई सम्झौताका बुँदाहरूको यादसम्म छैन । उसको चित्त आफ्नै दुर्मति र दुष्कर्मले गर्दा गुमेको सिंहासनको सम्झनामा बरालिएको छ । उसको स्मृति-शृङ्खला च्यातिएर चोइटा-चोइटा भएको छ । उसलाई म के भन्दैछुको हेक्काधरी छैन । ऊ बर्बराउँछ । ऊ त्यसै-त्यसै मुर्मुरिन्छ । ऊ आफूभित्रको कुण्ठाको जङ्गलमा बाटो हराएर रून्छ । र म कत्ति न देशप्रेमी र जनप्रेमी हुँ भन्ने स्वाङ पार्दै ऊ इतिहासको फड्के किनारमा सदाका लागि छुटेको सिंहासनमा फर्किने दिवास्वप्न देख्छ ।
हो, यसरी खनियो पडाड र निकालियो मुसो । र मुसाले यसरी गर्यो, अनर्थ प्रलाप । प्रलाप कारूणिक थियो र थियो त्यो किञ्चित् मनोरञ्जनदायी पनि । तर जनविश्वासको दरो धरातल टेकेर उभिएका छौँ भनी गुड्डी हाँक्ने नेताहरूले जब त्यो सुने, ती त्यसै-त्यसै तिल्मिलाए । मानौँ मुसाको रोइलोमा तिनले सिंहको गर्जन सुने । माधवकुमार नेपाल र कृष्णप्रसाद सिटौला सम्झौता भएकै छैन भनी अर्थ न बर्थको बाह्र हातको व्याख्या दिनथाले । 'भएको भए अन्तरे, लौ त सम्झौतापत्र देखा' भने पुग्थ्यो । तर यी मानवहरू आफैँ मुसा भएर, मुसालाई सिंह ठानेर अशक्त र निरीह मुद्रामा गिडगिडाए । उता प्रधानमन्त्री भट्टराईको मनोदशामा झनै ठूलो दुर्दशा देखियो । 'आदिम गुफाबाट निस्केका डुरे मुसाको असङ्गत चुरिफुरी इतिहासको झुर ठट्टा हो' भनिदिए पुग्थ्यो । यिनले मानौँ मुसाले धर्ती र आकाशै हल्लाउने भो भनेझैँ गरी प्रतिक्रिया गरे । यसरी मुसाले भाउ पायो, सिंह हौँ भन्नेहरू मुसिक भए ।
सञ्चार फाँटका सूचना सुराकीहरूले म अकिञ्चनलाई सोधे— यसमा तेरो राय के छ ? जवाफमा मैले उही पुरानो टेप बजाएँ— इतिहासको मसानघाटमा गाडिएको राजतन्त्रको लासबाट नलिखुट्टो झिकेर त्यसमा फुक्दा त्यो बौरिन्छ र ? जे मर्यो, त्यो सदाका लागि मर्यो । विस्मृतिको गर्तमा विलिन भइसकेको मुर्दालाई कुन मुसाले कुन दैवी चमत्कारले जीवित तुल्याउन सक्छ ?
काँचको पर्दामा हेर्छु, बरा दिग्भ्रमित ज्ञानेन्द्र कुण्ठाहरूको बोरा सुमसुम्याउँदै विलुप्त सिंहासनको सम्झनामा लीन छन् ।
No comments:
Post a Comment