www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

किन घट्दैन महिला हिंसा?

काठमाडौ, असार ७ - महिला हिंसाविरुद्धको सचेतना अभियान चलिरहेका बेला बोक्सीको आरोपमा हुने महिलामाथिको कुटपिट भने रोकिएको छैन । महिला मानव अधिकार रक्षकहरूले ०६८ चैत २८ बाट ६० दिने सचेतना अभियान थालेका हुन् ।

अभियान मनाइरहँदा गत जेठ ११ मा रौतहट समनपुरकी महादेवी यादवले 'बोक्सी विद्या' सिक्न आफ्नै तीनवर्षे भान्जालाई बलि चढाएकी थिइन् । महादेवीले सर्लाहीका भान्जा नितेश कुमारलाई बोक्सी मन्त्र सिक्न बलि चढाएको भन्दै नजिकैको बह्मस्थान मन्दिरमा लगी राति हत्या गरेकी हुन् । महादेवीले भान्जाको टाउको वाग्मती नदीमा बगाएको र शरीर आफ्नै घरभित्र गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पछिल्लो समय तराईका जिल्लालगायत काठमाडौंमै पनि बोक्सीको आरोपमा महिलालाई दिसा खुवाएका, आँखा फुटाएका, निर्मम यातना र हत्या गरेका घटना बाहिर आइरहेका छन् । ०६८ फागुन ५ मा चितवनको माडीमा ४० वर्षे ढेगनीदेवी महतोको बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरियो । बिहान सबेरै गोठमा गोबर सोर्न गएकी महतोलाई छिमेकी विकना महतोको परिवारले कुटपिट गरी जिउँदै आगो लगाएर जलाएका थिए । ती पीडकलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको मात्र सूचना बाहिर आयो तर केही कारबाही भएन ।

०६८ चैत १० मा काठमाडौंकै जोरपाटीमा बोक्सी भन्दै सुनिता पुडासैनीको आँखा फुटाइदिए । उनलाई आफ्नै सानीआमाका छोरी ज्वाइँ तारा र ज्ञानेन्द्रले विवाह भएको पाँच वर्षसम्म बच्चा नभएको र भैंसीले दूध नदिएकाले 'बोक्सी लागेको' भन्दै कुटपिट गरी घाइते बनाएका हुन् ।

'अन्धविश्वास हो भन्ने शिक्षाको चेतना फैलाउन नसकेका कारण बोक्सीको आरोपमा महिलामाथि कुटपिट भइरहेको छ,' शिक्षित परिवारबाटै यस्ता घटना भइरहेको जानकारी दिंदै मानव अधिकार आयोगका प्रवक्ता गौरी प्रधानले भने, 'आयोगमा प्राध्यापककै परिवारले बोक्सीको आरोपमा कुटपिट गरेको मुद्दा पनि आएका छन् ।' उनका अनुसार समाजमा जरो गाडेर बसेको अन्धविश्वास तुरुन्त हटाउन सहज छैन । 'डाक्टर नै उपचारका लागि धामीझाँक्री कहा गएको मैले देखेको छु,' उनले भने ।

मानव अधिकार आयोगमा ०६८ वैशाखयता बोक्सीको आरोपमा यातना पाएका ९८ मुद्दा दर्ता भएका छन् । महिला पुनस्र्थापना केन्द्रमा भने एक वर्षमा एक सय १० वटा मुद्दा दर्ता भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अन्धविश्वासका कारण महिलामात्र बोक्सीको नाममा प्रताडित भइरहेको बताए । 'मैले बोक्सोको आरोपमा कुनै पुरुषले यातना पाएको सुनेको छैन,' उनले भने । 'दोषीलाई राजनीतिक संरक्षण नगरी कानुनबमोजिम कडा कारबाही गराउन पार्टी र आफू प्रतिबद्ध भएको उनले बताए ।
image and News via ekantipur


Read more: http://www.ilamdarpan.com/2012/06/blog-post_21.html#ixzz20NcKWyp5

No comments: