www.subalternvoice.blogspot.com email: subalternstd@gmail.com

‘राई’ जातिविशेष नभएको सम्वन्धमा विभिन्न विद्वान, अनुसन्धानकर्ताहरुवाट आएका तथ्यहरु

The First Kirati King 'Yalambar'
हाम्रो सहि पहिचान किराती हो । राई, सुब्बा, मुखिया किरातीको पहिचान होइन त्यसैले हाम्रो नामको पछि थुलुङ, मेवाहाङ, लोहोरुङ, याम्फू , याक्खा, 
सुनुवार, आदि जे हो सो लेखौं । बालबालिकाको नामको पछाडि पनि सोही लेखाउं । राई, सुब्बा, मुखियाको बदला किराती लेखाऔं ।

‘राई’ जातिविशेष नभएको सम्वन्धमा विभिन्न विद्वान, अनुसन्धानकर्ताहरुवाट आएका तथ्यहरु ः
१. ‘राई शब्द राजाको पर्यायबाची हो र उपाधिका रुपमा मात्र प्रयोग गरिन्थ्यो ।’ पृथ्वीनारायण शाहले किरात भूमीलाई नेपालमा गाभेपछि ‘राई’, ‘देवान’ र ‘सुब्बा’ पदवीको नाममा ‘जिमीदार’ र ‘तालुकदार’ नियुक्त गरेका थिए । यी पदवी नै जातीको रुपमा चिनिन थालेको कुरा (नगेन्द्र शर्मा, नेपाली जनजीवन, दार्जिलिङ्ग, भारतः अचला भगवती प्रकाशन, जनवरी १९७६, पृष्ठ–१०० र १०१) मा उल्लेख छ ।
२. किरातिहरुको संरचना ध्वस्त पारी, किराति प्रमुखहरु हटाइए र तिनीहरुको ठाउँमा ‘राई’ नियुक्त गरिए । ‘पृथ्वीनारायण शाहले किरात भूमीलाई (१८३१ वि.स.तिर) नेपालमा मिलाएपछि राई शब्दको प्रयोग हुन थालेको हो । किरात क्षेत्रमा राई, सुब्बा, मुखिया र देवान पद प्रदान गरी उनीहरुलाई किपट भूमिको राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको थियो । (राजेश गौतम, के.थापा मगर, ट्रइबल इथ्नोग्राफी अफ नेपाल, पृष्ठ १५५ र १५६)
३. ‘राई’ शब्द राजाबाट उत्पन्न भएको हो । खम्बूवानमा गोर्खा आधिपत्यपछि पृथ्वीनारायण शाहबाट खम्बू प्रमुखहरुलाई दिइएको ‘राय’ भनिने उपाधिलाई गोर्खालीहरुले ‘राई’मा परिवर्तन गरेका थिए ।’ (कुमार प्रधान, द गोर्खा कन्क्वेष्ट्स्, पृष्ठ–५२)
४. ‘जब पहिले खम्बूहरु र त्यसपछि लिम्बूहरु गोर्खालीहरुबाट पराजित भए, गोर्खाका राजाले उनका पराजित दुश्मनहरुलाई सान्त्वना दिन उनीहरुमध्येका ज्यादै प्रभावशाली व्यक्तिहरुलाई आज्ञापत्र दिएर केही जिल्लाहरुमा शासन गर्ने अधिकार प्रदान गरे । यी आज्ञापत्रद्वारा खम्बूहरुलाई ‘राई’ र लिम्बूहरुलाई सुब्बा पदवी दिइएको थियोे ।’ (एडिन् भेन्सिर्टाट, गोर्खाज, पृष्ठ–९७)
५. ‘किरातिहरुको पुख्र्यौली जमिनको अधिकारलाई पृथ्वीनारायण शाहले पूर्णरुपमा मान्यता दिइ उनीहरु र राज्यवीच मध्यस्थताका लागि स्थानीय प्रमुखहरुलाई लालमोहर दिएर आदरपूर्ण ‘राई’ पदवी दिए ।’ (चाल्स् मक्दौगल, द कुलुङ राई, पृष्ठ–८)
६. ‘राई शब्दको प्रयोग पृथ्वीनारायण शाहले किरात प्रदेशलाई नेपालमा सम्मिलित गराएपछि गाउँका जान्नेसुन्ने व्यक्तिलाई स्थानीय प्रशासकका रुपमा जिमीदार र तालुकदार ‘राई’, ‘सुब्बा’ पदवी दिएपछि प्रयोग हुन थालेको देखिन्छ । (जनकलाल शर्मा, हाम्रो समाज (एक अध्ययन, काठमाडौं साझा प्रकाशन २०३९ साल, पृष्ठ–२८६)
७. ‘राय शब्द राजा शब्दको अपभ्रंश हो र राई शब्द राय शब्दकै अपभ्रंश देखिन आउँछ ।’ (शिवकुमार श्रेष्ठ, लिम्बुवानको ऐतिहासिक अध्ययन, धनकुटा, श्रीमती गंगादेवी श्रेष्ठ, २०४२, पृष्ठ–९१)
८. राई भन्ने कुनै जातिको नाम नभई गाउंका ठालू वा मुखिया जनाउने शब्द हो । बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा, ठकुरीलाई बाबुसाहेब, छेत्रीलाई काजी, लिम्बू र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार शब्दले सम्बोधन गरेजस्तै मात्र थियो । (डोरवहादुर विष्ट ः सवै जातको फूलवारी, पेज ५)
९. ‘राई’ शब्दको व्यापक प्रयोग सात दशक अघिदेखि भएको इतिहासले वताउंदछ । नेपाली जातिवीच मौलिक भाषिक र सांस्कृतिक मूल्य मान्यताहरुको लहर चलेपछि ‘राई’ एउटा विवादको कठघरामा उभिन गएको छ । (सी.एम. खम्वूः ‘‘राई को हुन् रु’)
प्राचीन कालमा मालपोत उठाउने एक पदाधिकारी । किरातीहरुले आफ्नो सार्वभौम सत्तासित साटेको उपाधि र ‘पगरी’ जो राईको मौलिक व्युत्पन्न शब्द र जात वुझिदैन ।
पृथ्वीनारायण शाहले किरात भूमी कब्जा गरेपछि (१९१४ मा) लिम्वुलाई सुवाङ्गी (सुब्बा) र (१८३२ तिर) खम्वुलाई ‘राई’ पद्वी दियो । क्रमैले सुनुवार जाति ‘मुखिया’, याक्खाहरु ‘देवान’ भए, तराईका थारुहरु ‘चौधरी’ भएका हुन् । 
किपटीय कालमा किपटका प्रमुखलाई मात्र ‘राई’ भनिन्थ्यो । जसले सरकारी तिरो–भारो उठाउनुका साथै रैती माथि शासन गर्दथे । रैतीलाई ‘जिमी’ भनिन्थयो । राईलाई उपराजा सरहको अधिकार थियो र उनको मृत्युपछि जेठा छोराले मात्र ‘राई’ हुन पाउंदथ्यो र अन्य छोराहरु चाहिं रैती वा जिमी नै हुन्थे । किपट प्रणाली विघटन भएपछि रैतीलाई पनि राई भन्न थालियो । 
‘राई’ पद अन्यतिर पनि प्रयो भएको पाइन्छ । सिक्किम पाचे–खानीका भीमबहादुर प्रधानलाई राम्रो काम गरेवापत सन् १९४३ मा सिक्किम सरकारले ‘राई’ साहेबको पद्वी दिएका थिए । त्यस्तै वर्मेकका काजीलाई ‘देवान’ पदले विभूषित गरिएका थिए । 
‘राई’ दनुवार जातिहरुले पनि लेख्ने गरेको पाइन्छ भने भारतमा बंगाली, गडवाली र पंजाबीहरुले पनि ‘राई’ लेख्ने गरेको पाइन्छ । (सी.एम. खम्वू , नाम्ची, दक्षिण सिक्किम, २००५ः ‘‘राई को हुन् रु’, पेज १० र ११)

१०. किपट चलाउने मुख्य शासकलाई राई भनिन्थ्यो । पृथ्वीनारायण शाहले उपराजा सरहको अधिकार सहित राई पद दिएका थिए । राईको मृत्युपछि राईको छोरा जेठा राई हुन पाउदथ्यो । अरु छोराहरु रैती हुन्थ्यो । २०१६ सालसम्म लेखिएको कागज पत्रमा शासकलाई राई र रैतीलाई जिमी लेखिएको पाइन्छ । 

राईले किपटमा शासन गर्दा आर्थिक कारोवार मिलाउने व्यक्तिलाई कारवारी, लेखापढीको काम गर्ने सचिवलाई द्वारे भनिन्थ्यो । राईले रैतीहरुवाट तिरो उठाएर सरकारलाई वुझाउने र ज्यान सम्वन्धी मुद्धा जाहेर गर्र्नु पर्दथ्यो । रैतिहरु घरलौरी उठेर राईको खेतीपाती लगाई दिन÷उठाई दिन जानु पर्दथ्यो । जनताले जग्गाको तिरो वुझाउन जान र आउन राईलाई वाटो खर्च दिनु पर्दथ्यो । (भूपध्वज थोमरस कुलुङ संक्षिप्त परिचय, २०५० पेज ७) तथा (भूपध्वज थोमरोस् कुलुङ सांस्कृतिक अध्ययन २०५७ पेज ३८)

११. दशैंको नवमीको दिन रैतीहरु घरलौरी उठेर राईको घरमा भेला भई मालश्री पाठ गरी रां‘गा, बोका वा भाले काटी वली चढाउनु पथ्र्याे र रगतबाट पैताला र हतकेलाको छाप दैलोमाथि लगाउनु पथ्र्यो । राईकामा टीका थाप्न आउंदा रैतीहरुले आफ्नो जातअनुसारको (क्षेत्री वाहुनले दही रोटी, शेर्पाले आलुको पेरुङ्गो, गुरुङ्ग, मगर, तामाङ, जिमीले जॉंड रक्सी राईलाई चढाउनु पथ्र्याे । पहिले दशैंमा मार हान्ने चलन राईको घरमा मात्र थियो, रैतीको घरमा थिएन । तिहारमा द्यौसिरे, भैलो खेल्दा राईको घरवाट शुरु गरिन्थ्यो । 

गाउंमा झैझगडा, वा नराम्रा कार्य भएमा राई समक्ष जाहेरी गरिन्थ्यो । राईको अध्यक्षतामा कचहरी वस्दथ्यो । राई उपस्थित नभएको कचहरी वैधानिक मानिदैनथ्यो । किपटभित्रका प्राकृतिक स्रोतहरु राईको स्वीकृति लिई रैतीले उपभोग गर्न पाउथ्यो । (भूपधवज थोमरोस् कुलुङ सांस्कृतिक अध्ययन २०५७ पेज ८५, ८६, ९८, १०१)
१२. ‘राई’ भनेको जात होइन, ‘पद’ हो । राईको भाषा र संस्कृति कतै भेटिदैन । कसैले राईको भाषा वा संस्कृति छ भन्छ भने त्यो वान्तावा, चाम्लिङ, साम्पाङ, कुलुङ, खालिङ, थुलुङ, आदिमध्ये कसैको भाषा, रीति–रिवाज हो । (खिलमान वाधिरीले दिएको अन्तर्वाता, सुक्तुम्, वर्ष ७, अंक २, चैत्र २०५७, पाना १५)
१३. “राई” शव्दले प्राचीन कर्णाली प्रदेशका राजालाई वुझाउंदछ । प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी (नेपाली बृहत् शव्दकोश) 
१४. राईको इतिहास २५० वर्ष भन्दा कम रहेको र यो सेन राजाहरुले पूर्व विजय गरेपछि किरांत प्रदेशका केही मुख्खेलीहरुलाई राय पदवी दिएको र त्यो पदवी नै पछि गएर राई वन्यो (डा. डिल्लीराम दाहाल, साउन २५, २०६२ः राजधानी दैनिक, पेज ४)

१५. किरातीहरुले मात्र नभै अन्य जात÷जातिकाहरुले पनि ‘राई’ पद पाएका थिए । सोलुखुम्वुको सोत्तो (सोताङ) का शिववहादुर र दीपवहादुर वस्नेत, ओखलढुंगा रातमाटेका टेकमाध्वज कार्की, तेजप्रसाद कोइरालाले पनि ‘राई’ पगरी पाएका थिए । डोल्पामा रोकाया क्षेत्रीहरु, जाजरकोटमा वस्नेत क्षेत्री राई थिए । भूटानमा गर्जवहादुर गुरुङ राई थिए ।

१६. किरात राई यायोख्खावाट २०६२ वैशाखमा प्रकाशित निप्सुङ अंक २२, वर्ष १२, को (पेज ५६) ‘‘राई र सुब्बा उपनाम सम्वन्धमा’’ रामचन्द्र राईले निप्सुङ साकेला विशेषांकवाट साभार गरी प्रकाशन भएको लेखमा पृथ्वी नारायण शाहका १६ पिंडि अघिका पूर्खाहरु पनि राई भएको उल्लेख छ । 

१७. नेपालका अन्य जातिहरु ः यादाव (राय), मगर, दनुवार, लिम्वु, याख्खा, सुनुवार, जिरेल, हायु, दराई, आदि जातिहरुमा पनि राई जोडिएको पाइन्छ । एकजना संविधानसभा सदस्य (सभाषद) मोहम्मद इस्तियाक राई हुनुहुन्थ्यो । ‘राई’ मा जातिय विशिष्टता नभएकै कारण अन्य जातिहरुमा राई जोडिएका हुन् ।

No comments: