Gorkhapatra/sampadakiya, 25 Asar 2069

सुकुम्वासी समस्या वास्तवमा एउटा यस्तो गम्भीर समस्या हो, जसका आर्थिक, सामाजिक तथा राजनीतिक पाटाहरु पक्षहरु रहेका छन्। सबै नेपालीले आधारभूत आवश्यकता तथा मौलिक हकका रुपमा पाउने खाने, बस्ने र बाँच्न पाउने अधिकार उपभोग गर्न पाउनु पर्छ। संविधान प्रदत्त यस्ता अधिकारको निर्वाध र समानताका आधारमा उपभोग गराउनु राज्यको दायित्व हो। यसका लागि नेपालको भूमिसुधार व्यवस्थामा पनि आमूल परिवर्तनको खाँचो छ। यी अधिकारको अभावमा सुकुम्वासीहरु आर्थिक तथा सामाजिक समानता, उन्नति र विकासको मूल प्रवाहमा पर्नबाट नै विमुख छन्। सुकुम्वासीका नाममा गरिने राजनीतिले त उनीहरुको भविष्यमाथि खेलबाड नै भएको छ। निर्वाचनमा मत प्राप्त गर्ने उद्देश्यले सुकुम्वासीहरूलाई विना जग्गाका लालपूर्जाहरु वितरण गरिएका समाचार यसअघि आउने गरेका हुन्। सुकुम्वासीका नाममा हुकुम्बासीले मोजमस्ती लुट्ने र तिनलाई नै राजनीतिक संरक्षण प्राप्त हुने रोगको निदान नभएसम्म यो समस्या अरु जटिल बन्ने छ। सरकारले हालै सार्वजनिक गरेको भूसंरक्षण नीतिमा वन क्षेत्रको हिस्सा कम्तीमा ४० प्रतिशत हुनुपर्ने निर्धारण गरेको छ। तर सुकुम्वासी समस्याको सही समाधानका योजना र कार्यक्रमहरुको अभावमा यो नीतिगत योजना कार्यान्वयन नहुने पक्का छ। सुकुम्वासी समस्याका अतिरिक्त अन्य विभिन्न प्रयोजन तथा तस्करीबाट समेत वनजंगलको विनाश हुने प्रवृत्ति बढेका कारण नेपालले कार्बनको उत्पादनबाट अन्तर्राष्ट्रिय क्षेत्रबाट पाउने रकममा समेत असर पर्ने देखिएको छ। सुकुम्बासीका नाममा सरकारी जमिन अतिक्रमण हुँदा राज्यलाई तथा भावी सन्ततिलाई समेत पर्ने दूरगामी असरको विश्लेषण गरेर वास्तविक सुकुम्वासीलाई कम्तीमा पनि न्यूनतम आधारभूत आवश्यकता पूर्ति हुने गरी बसोवास तथा आय उपार्जनका स्रोतको वितरण नगर्दासम्म यो समस्या अरु चर्कने स्पष्ट छ।
No comments:
Post a Comment